बर्ष ४ / पूर्णाङक ४
सम्पादकीय:
जीवनको रफ्तारमा फूल, फूलजस्तो नरहँदा; मान्छे, मान्छेजस्तो नरहँदा; जीवन, जीवनजस्तो नरहँदा; हाम्रा आकाङ्क्षाका सारा सम्बोधनहरू कलाका कोष्ठकभित्र अस्तित्वको एकमुष्ट सुरुचिपूर्ण नारा लगाउँदा रहेछन् र आहत मानवीय संवेदना उतैतिर मोडिँदो रहेछ । हो, यतिखेर हामी अत्याधुनिकीकरणको शिखरयात्राको युगमा छौँ । यद्यपि हाम्रो परिचय हाम्रा भावी सन्ततिहरूलाई निश्चय नै हामी बाँचेको युगको कोष्ठकभित्रका तिनै कलासंस्कृतिले नै दिनेछन् । सन्दर्भमा राष्ट्रको साझा सवाल र गौरव नेपाली साहित्य, कला, सङ्गीत, दर्शन, इतिहास, संस्कृति आदिको उत्थानमा समर्पित संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठान आफू बाँचेको अत्याधुनिक युगकै सहयात्री बनेर हिँड्ने क्रममा प्रतिष्ठानद्वारा नियमित रूपमा प्रकाशित विशुद्ध कलासाहित्य सम्बद्ध वेब पत्रिका www.nepalikalasahitya.com [www.nepaliartnliterature.com] को चौथो अङ्क लिएर पुनः कलापे्रमीहरूवीच हामी उपस्थित भएका छौँ । भौतिक उन्नति लगायत कलासाहित्यको सन्दर्भमा पनि सीमान्तीकृत पीडा झेलिरहेका हामी, विशिष्ट नेपाली कलासाहित्यलाई विश्वपरिवेशमा चिनाउने र पुर्याउने प्रतिष्ठानको २०६५ सालमा प्रारम्भित १५ वर्षे रोडम्यापबमाजिम नै दस्तावेजका रूपमा विशिष्ट रचनाहरूको सङ्कलन, अनुवाद, प्रकाशन; राष्ट्रिय अन्तर्राष्ट्रिय कलासाहित्य यात्रा लगायत विशुद्ध साहित्यक ई–पत्रिकाको प्रसारणको सन्दर्भकै मूर्त रूप हो तपाईँसामु तपाईँका आँखामा पे्रमले प्रतिविम्बित भइरहेका यस अङ्कका कलात्मक सर्जामहरू । अलिकति ठोक्किएर, अलिकति लडेर, अलिकति घाउ बाँचेर पनि भौतिक सभ्यताको उचाइमा प्रकृतिको सर्वश्रेष्ठ सिर्जना हामी मान्छे र मान्छेका आस्तित्विक सर्वश्रेष्ठता हाम्रा मानवीय संवेदनाका यिनै दस्ताबेजी कलाहरूमा सगर्व बाँचून् भन्ने आकाङ्क्षासहित विश्वप्रतिष्पर्धामा समेत सजिलै स्तम्भित हुन सकोस् भन्ने उद्देश्यले पूर्व अङ्कजस्तै यस अङ्कलाई पनि अङ्ग्रेजी नेपाली दुवै भर्सनको प्रस्तुतिसहित साहित्य, सङ्गीत र अन्य कलाको त्रिवेणी भएर तपाईँको मनको सँघारमा उभिएका छौँ । यद्यपि नयाँ सजावटमा यो अङ्क काठेकलाजस्ता रोचक अन्य सामग्रीसहित कविता विशेषाङ्ककै रूपमा समर्पित छ ; जसमा नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको उद्देश्य र रोडम्याप बमोजिम प्रतिष्ठानद्वारा नै नेपाल एकेडेमीको परियोजना अन्तर्गत तयार गरी छपाइमा समेत प्रकाशित गरिएको “सगरमाथाको नृत्यमग्न आत्मा”[Dancing Soul of Mount Everest] शीर्षकको आधुनिक नेपाली कविताको सिङ्गो विशेष ग्रन्थ नेपाली अङ्गे्रजी दुवै भाषामा प्रस्तुत गरिएको छ । हामी विश्वस्त छौँ कि हाम्रा सिर्जनशील कर्मले नेपाली कलासाहित्यको प्रासङ्गिकतालाई कहिल्यै मर्न दिनेछैन ; कुनै भूगोल, कुनै जाति, धर्म र समयसीमाभित्र खुम्चिनेछैन; मुर्झाउनेछैन । यस्तो पुनीत कार्यमा साथ दिनुहुने सम्पूर्ण लेखक तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने हृदयीहरूप्रति आभार प्रकट गर्दै यस्तो कार्यलाई जीवन्त राख्नका लागि दानवीरहरूबाट अक्षय कोषका लागि आर्थिक सहयोग र कलमवीरहरूबाट बौद्धिक र हार्दिक सहयोगको अपेक्षा राखेका छौँ ।
- मोमिला







